BiswoKhabar: कागती अर्थात् औषधिको डल्लो- डाक्टर अरुणा उप्रेती

सबैले पढ्नुस कागतीको फाइदा लिनुहोस्


गर्मीमा कागतीको सर्बत पिउने हो भने तिर्खा मेटिने मात्र होइन रोग प्रतिरोधात्मक शक्ति समेत बढ्छ।

गर्मीसँगै शरीरलाई मनग्ये पानी चाहिन्छ। ठीक यही बेला अस्वस्थकर अनि महँगो चिसो पेय पदार्थको बिक्री पनि बढ्छ।
यस्ता पेय पदार्थले हड्डी कमजोर बनाउँछन्। त्यसो भए गर्मीमा असाध्यै तिर्खा लाग्दा के खाने? प्रश्न हुन सक्छ। ‘कागतीको सर्बत’ सबैभन्दा प्रभावकारी उत्तर यही हो। सर्बतलाई हामी गर्मी वा जाडो, तातो वा चिसो जेमा पनि मिलाएर खान सक्छौं।म कागतीलाई ‘औषधिको डल्लो’ भन्छु र दिनहुँ कमसेकम दुई वटा कागतीलाई चिया, सर्बत, दाल आदिमा मिलाएर खाने गर्छु।

कागतीमा भिटामिन सी पाइन्छ। यो भिटामिनले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। कागतीको त्यही शक्तिलाई चिनेर नै हुनुपर्छ, हाम्रा पुर्खाले गर्मी शुरू हुने अक्षय तृतीयामा कागतीको सर्बत र जौको सातु खाने चलन चलाएका। गर्मीमा कागतीसँग सातु खाँदा विभिन्न खाले पेटको बिमारबाट बच्न सकिन्छ। तर, अचेल अक्षय तृतीयामा प्याकेटमा पाइने फलफूलको महँगो र हानिकारक रस, चिसो पेय पदार्थ प्रयोग गरिन्छ। यसले संस्कृति नष्ट मात्र गर्दैन, स्वास्थ्य पनि बिगार्छ।



कागतीको महत्व वैद्यहरूले पनि बुझेकै हुनाले भनेका रहेछन्, ‘कागती र अदुवा दिनदिनै खानेको घरमा रोगले प्रवेश पाउँदैन।’
नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले गरेको एक अध्ययनले कागतीले हैजाको कीटाणु वृद्धि रोक्ने निष्कर्ष निकालेको छ। तर, यस्तो उपयोगी कुराको प्रचार हुन सकेन।

कागतीमा रहेको भिटामिन सीले भोजनको लौहतत्व सोस्न मद्दत गर्छ। कतिपय स्वास्थ्यकर्मीले रक्तअल्पता भएका महिलालाई कागतीको रसको साटो भिटामिन सीको चक्की दिंदै खानासँग खानु भन्छन्।

फलामको भाँडोमा पकाएको दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवतीको रक्तअल्पता कम हुन सक्छ। साइटि्रक एसिड विभिन्न फलफूलमा पाइन्छ भनेर १७औं शताब्दीमै पत्ता लागेको हो। शरीरका अतिरिक्त क्रियाकलापमा यो एसिडले सघाउँछ र कागतीमा यो पाइन्छ।
मलाई लाग्छ, फूटपाथमा वा तरकारी पसलमा सबैतिर पाइने भएकाले कागती हेपिएको हुनुपर्छ। ठूला पसलहरूमा विदेशी प्याकेटभित्र महँगोमा बेचिने गरिएको भए कुरा बेग्लै हुनेथियो।
कागतीको चिया जबकि ‘लेमन टी’ भनेर पाँचतारे होटलमा रु.१५० मा बेचिन्छ। हामी मीठो मानेर पिउँछौं। सजिलै पैसा तिछर्ौं। तर त्यही ‘लेमन टी’ घरमा खान पिउन मन पराउँदैनौं। पाहुनालाई दिन हच्किन्छौं।

कागतीमा भिटामिन बी–वान, भिटामिन बी–थ्री, फोलिस एसिड पनि पाइन्छ। यी तत्वले गिजाबाट रगत बग्ने समस्या कम गर्छ। रुघाखोकीलाई कागती पानी र मह मिसाएर खाएकै भरमा निको पार्ने धेरै छन्। गाउँघरमा गर्भवतीलाई वाक्वाकी लाग्दा कागती र नून खाने सल्लाह त्यसै दिइएको होइन। तर शहरमा वाक्वाकी लाग्यो कि तुरुन्तै औषधि खुवाउने चलन छ। कागतीले खाना पचाउन र कब्जियत हुन नदिन पनि मद्दत गर्छ।

कागती खाने अधिकांशले बोक्रा फालेको देखिन्छ। तर, यही बोक्रामा रेसादार पदार्थ, भिटामिन सी र क्याल्सियम पनि पाइन्छ। केही अनुसन्धानले कागतीको बोक्राको नियमित सेवनले शरीरमा बोसो घटाउन पनि सहयोग गर्ने देखाएका छन्।

बरु बोक्रा कसरी खाने भनेर धेरैलाई थाहा नहुन सक्छ, रस निकालिसकेको कागतीको बोक्रालाई सानो सानो टुक्रा पारी सलादमा राखी खानु उपयुक्त मानिन्छ।बोक्राको तीतो स्वाद मन नपरेमा सुकिसकेपछिको बोक्रालाई सिसाभित्र नूनमा चोबली घाममा सुकाएर अचार बनाएर पनि खान सकिन्छ। -

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues