चीनको रेल किन जाने भयो सिधै भारत ?
प्रधानमन्त्री केपी ओलीको सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र ओलीबीच छिङ्हाई–तिब्बत रेलसञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने बिषयमा छलफल भएको चिनियाँ एक विज्ञलाई उदृत गर्दै भारतीय दैनिक हिन्दुले समाचारमा उल्लेख गरेको छ ।
‘चिनियाँ र नेपाली प्रधानमन्त्रीबीच भएको छलफललाई आधार मान्ने हो भने चीन, नेपाल र भारतबीच रेलसञ्जाल जोडिनुपर्छ’ चीनको इन्स्टिच्युट अफ हिस्ट्री स्टडिजका निर्देशक चाङ् युनले भारतीय पत्रकारसँग बेइजिङमा भएको भेटमा भनेका छन् ।
उनले छिङ्हाई–तिब्बत रेललाई नेपाल—चीन रेल सीमासम्म विस्तार गर्ने काम सक्दो चाँडै सम्पन्न गर्न चीन लागिपरेको बताएका छन् । ‘चिनियाँ रेल नेपालतर्फ जोडिनुपर्छ भन्नेमा नेपालभित्र ब्यापक समर्थन छ । भारतमा पनि एउटा तप्का नेपाल हुंदै रेलमार्ग विस्तार भए द्विपक्षीय संबन्ध सुदृढ हुन्छ भन्ने विश्वास राख्छ । तर फेरी भारतभित्रै अर्को तप्का नेपाल आउने चिनियाँ रेल विस्तार भए भारतलाई घाटा हुने देख्छ ।’
निर्देशक चाङ् चिनियाँ सरकारलाई स्वशाषित क्षेत्र तिब्बतको मामिलामा सल्लाह दिने एक अनुसन्धान कार्यदलमा सदस्य रहेको हिन्दूले समाचारमा जनाएको छ । चीन, नेपाल र भारतबीच रेल विस्तार भए तिनै मुलुकले फाइदा लिने उनले बताए । विज्ञहरु कुटनीतिक मामिलाका जानकारहरुले चीन विश्को महाशक्ति बन्ने दिशामा अघि बढेकाले चीनको प्रगतिबाट लाभ लिन चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य बनाउनुपर्ने बताएका छन् ।
‘चीन र भारतका उच्च राजनीतिक नेतृत्वबीच एसिया क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण सहकार्य आवश्यक छ । यदी त्यसो भएको खण्डमा एक्काइसौँ सताब्दिमा एसियाले विश्वको नेतृत्व गर्न सक्छ’ चीनको सिन्ह्वा न्यूज एजेन्सिले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा जापानका लागि पूर्व नेपाली राजदूत डा. बिष्णुहरि नेपालले भने ।
चीनले रेल, सडक तथा समुन्द्री मार्गबाट एसिया, युरोप र अफ्रिकासँग आर्थिक संबन्ध सुदृढ गर्न अघि बढाएको ‘वान बेल्ट वान रोड’ रणनीतिमा सार्क सदस्य मुलुकहरुले सक्रियतापूर्वक सहभागि भए त्यसबाट एसिया क्षेत्रको समृद्दि र शान्तिमा महत्वपूर्ण सहयोग मिल्ने बताएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
Don't Forget To Join US Our Community