धुर्मुस र सुन्तलीलार्इ विदेशबाट पत्र: तिमीहरु नेता बनेर किन जन्मेनौं !

हिजो तिमीहरु दुबैले डोको भरी ढुंगा बोकेको टेलिभिजनमा देख्दा यस्तो लाग्यो म पनि नेपालमै भएको भए तिमीहरुको पवित्र काममा कति उर्जा दिँदै होस्टेमा हैँसे मिलाउने थिएँ होला । तिमीहरुले बोकेको डोको उठाईदिएर बोझ हल्का पारिदिन्थे होला । तर टाढाको भुगोलमा भएकोले प्रशंसा र सहानुभूतिले मात्र चित्त बुझाउँदै छु ।
अचेल म निरन्तर चिठ्ठी लेखिरहेको छु: राजनीतिका मुख्यमुख्य पात्रहरुलाई तर पनि उपलब्धि शून्य प्राय: छ । राजनीति बिग्रिएको छ उहि कुरा क्षणमै सेतो र क्षणमै कालो भईरहेको छ । सबै जना आफ्नो पोल्टा भर्ने बेलामा तिमीहरु त फेरि भग्नावशेषको वस्ती गिरान चौर पो पुगेछौ गिरेका घरहरु र मनहरु ठाडो पार्न अनि तिनीहरुकै बारेमा मैले लेखिन भने मेरो कलमको धर्म कसरी पूरा हुने भो र ! त्यसैले मध्यरातमा जागेर तिम्रै बारे केहि प्रशंसा त केहि सहानुभूति र शुभकामनाका वाक्यहरु कोर्न खोजिरहेको छु ।
प्रिय धुर्मु/ सुन्तु
साँच्चै ! तिमीहरु त बडो बलवान पो रहेछौ, महाभारतको पात्र भिमले जस्तै डोकोभरि ढुंगा बोक्न सक्ने ! तिमीले ढुंगा बोक्दै गर्दा न मैले कुनै अभिनय देखेँ न त कुनै अभिमान:  बरु देखेँ त तिमीहरुको दृढ लगनशीलता र अन्तरमनको त्याग । सायद राजनीतिज्ञ हुन्थे भने घाँटीभरि माला र खादाले सजिएर रिबन काट्दै गर्थे होला अथवा दुईचार वटा घर बनाउन पुग्ने रकम हेलिकोप्टर र भत्तामा खर्च गर्थे होला । साँच्चै आज गर्व लाग्छ तिमीहरु बारे लेख्दा मेरो कलम पनि कति प्रफुल्ल भईरहेको छ । कलमले पनि आज आफैलाई भाग्यमानी ठानिरहेको छ ।
म तिमीहरुको यो परोपकारमा भौतिक रुपमा त सहभागी हुन सकिन तर नैतिक र आर्थिक रुपमा सहभागि हुन भने अवष्य चाहन्छु, म चाहन्छु गिरान चौरमा मेरो पनि पसिनाले मुछेर बनेका केहि ईटहरु थपिऊन्, म मात्र हैन म जस्ता बिदेशमा बसेर पनि हर क्षण नेपाल देख्ने र दुख्ने मनहरुका पनि पनि रगत र पसिनाले मुछेर हार्दिकताले पकाएका ईटहरु थपिऊन् भन्ने मेरो आशय हो ।
हो, तिमीहरुले ढुंगा मात्र कहाँ हो र चुनौतिको पहाड उचालेका छौ, ढलेका मन उचालेका छौ, देशको लागि केहि गर्न नसक्ने नालायक नेतृत्वहरुलाई नैतिक झापड हुने गरि एउटा गतिलो संकल्प उचालेका छौ , बिदेशिएका आधा करोड युवाको तर्फबाट म तिमीहरुलाई प्रोत्साहन र प्रशंसाका गुच्छाहरु अर्पण गर्न चाहन्छु । र तिमीहरुको पवित्र कामको सफलताको शुभकामना दिन चाहन्छु ।
हो धुर्मु/ सुन्तु तिमीहरुको सोच महान् थियो: भुकम्पले आफन्त गुमाएको बेला जनता हँसाउनु उचित हुने थिएन , मान्छेहरु घरवार बिहीन भएको बेला बिदेश घुम्नु उचित थिएन त्यसैले तिमीहरु अमेरिकाबाटै फर्क्यौ, मान्छेको सपनाको देशबाट फर्क्यौ र घाईतेहरुको मलहम पट्टिगर्न तल्लीन भयौ, त्यसैले त सबैको प्रिय बन्यौ ।
तिमीहरु एउटा गरीबको बस्ती बनाउन यति अटल भईरहँदा सरकारमा बसेकाहरु भागबन्डामै बितन्डा मच्याएको देख्दा यस्तो लाग्छ: धुर्मु/ सुन्तु ! तिमीहरु हाम्रो प्यारो नेता बनेर किन जन्मेनौ ? साँच्चै तिमीहरुले बनाएको बस्ती जस्तै हामीले भोगेको राजनीति पनि नमूना भईदिएको भए ! तिमीहरुकै निगाहले गर्दा धेरै भत्किएका मनहरुले यो दसैंमा आफ्नै घरमा बसेर टीका थाप्दा पाएका आशिर्वादहरुले तिमीहरुलाई कति भाग्यमानी बनाउला है ! त्यो वस्तीमा आफ्नो गच्छे अनुसार सहयोग गरेर धेरै परोपकारी मनहरुले केहि न केहि आशिर्वाद पाऊन् भन्ने मेरो पनि चासो हो ।
अन्तमा तिमीहरुको आदर्शले कहिल्यै नहारोस्, तिम्रो पवित्र समाजसेवामा कसैले औला नठड्याओस र तिमीहरुको यो पुण्य कामलाई गिरानचौर मात्र हैन हरेक सहृदयी मनहरुले सधै संझिरहने छन् । तिमीहरु अहोरात्र खटिरहँदा राज्यका सरोकारवाला निकायको तन्द्रा भंग होस भन्दै तिमीहरुको पवित्र कामको सफलताको लागि लाखौँ लाख कामना गर्दछु ।सहयोगी मनहरुलाई दिल खोलेर सहयोग गर्न यो लिंक पनि शेयर गरेको छु ।
तिमीहरुको शुभचिन्तक दाजु
सरगम भट्टराई

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues