दिनभर काठ बोके राजकुमार ह्यारीले
गोरखा, १५ चैत । बेलायती राजकुमार ह्यारी गत बिहिबार गोरखाको थुमी गाविसको सोती बजारमा गाडीबाट उत्रिएपछि उकालो, ओरालो, भीर पहरा छिचोल्दै अनकन्टार लापु गाविस वडा नम्बर ३ को लापुबेसी पुगे । त्यहाँ ६ महिनाअघिदेखि टिम रुबिकन यूके नामक संस्थाले प्रभात किरण माविको भवन निर्माण गर्दै थियो ।
भवन निर्माण गर्न बेलायती सेनाका १३ जनाले श्रमदान गरिरहेका थिए । अहिले उनी पनि त्यहीँ मिसिएर भवन बनाउन श्रमदान गरिरहेका छन् । ह्यारीले आइतबार दिनभर जंगलबाट आधा घन्टाको बाटो काठ बोकेको प्रधानाध्यापक जीव गुरुङले जानकारी दिए । उनका अनुसार ह्यारीको टिमले ११ कोठे विद्यालय भवन बनाइदिनेछ । अहिले निर्माणाधीन चार कोठे भवनको झ्याल ढोका राखिसकिएको छ । छाना राख्न मात्र बाँकी छ ।
विद्यालयको भवन एक वर्षअघि भूकम्पले तहसनहस बनाएको थियो । भवन भत्किएपछि त्यहाँ अध्ययनरत दुई सय पाँचजना विद्यार्थीको बिचल्ली छ । विद्यार्थी स्थानीय अभिभावक सुकपाल गुरुङको बारीमा त्रिपाल टाँगेर पढिरहेका छन् । विद्यालयको कार्यालय पनि पालभित्रै छ । महत्त्वपूर्ण कागजात राखिएको दराज भने व्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङको होटेलमा मासिक सात सय रुपैयाँ भाडा तिरेर राखिएको प्रअ गुरुङ बताउँछन् ।
‘साना कक्षा चाहिँ पालभित्रै छ । सात, आठ नौ र दस कक्षाका विद्यार्थी चाहिँ जस्ताको टहरोभित्र पढ्छन्ु प्रधानाध्यापक गुरुङ भन्छन्, ‘अफिस कोठा पनि पालभित्रै छ । महत्त्वपूर्ण कागज राखिएको दराज चाहिँ अध्यक्षको होटेलको कोठा भाडामा लिएर राखेका छौं ।
गुम्दा गाविसको यमगाउँ, लप्सीबोट, माछाखोला, मान्बु गाविसको मान्बुबेसी, लापु गाविसको खानीगाउँ, खानीबेसीबाट आएका ४० जना विद्यार्थीलाई विद्यालयले छात्रबासमा राखेको छ । छात्रबास पनि धन्सार गुरुङको बारीमा पालभित्रै छ । यसअघि सुनार गुरुङको बारीमा राखिएको थियो । उसले मकै रोप्नका लागि बारी खाली गरिदिन भनेपछि होस्टल त्यहाँबाट हटेर यहाँ सरेको समितिका अध्यक्ष सुरेश गुरुङले जानकारी दिए ।
गत बुधबारको हावाहुरीले विद्यालय छाएको त्रिपाल र जस्ता उडाएपछि विद्यालयको बिचल्ली भएको भयो । विद्यालय उडाएपछि विद्यार्थीले बारीको गरामा त्रिपाल ओछ्याएर वार्षिक परीक्षा दिइरहेका उनले बताए ।
बेलायतका राजकुमारले विद्यालयको भविष्य बनाइदिने भन्दै छिमेकी विद्यालयका शिक्षक, कर्मचारीहरूले बधाइ दिने गरेको भन्दै प्रअ गुरुङले खुसी व्यक्त गरेका छन् । तर नीजिस्रोतमा राखिएका आधा दर्जन शिक्षकलाई दिने तलब, छात्रबास चलाउने खर्च, विद्यालय चलाउने अतिरिक्त खर्च जुटाउन नसक्दा हैरान भएको उनको गुनासो छ ।
‘अरूले बधाइ दिइरहेका छन् । मलाई विद्यालय चलाउन धौ धौ छु, उनी भन्छन्, ‘यहाँको बिचल्ली देखेर राजकुमारले जाने बेलासम्म पनि विद्यालय चलाउने खर्चको पनि आश्वास दिन्छन् कि भन्ने आशा छ । गएपछि पनि यो विद्यालयका भविष्य उज्ज्वल बनाइदिन्छन् कि भनेर सबै गाउँलेले आस गरेका छन् ।ु राजकुमार ह्यारीसँग साँझ बिहान आफूले पनि मनग्य कुराकानी गरिरहन पाएकोमा उनले खुसी व्यक्त गरे ।
कुराकानीमा ह्यारीले नेपाल सरकारको काम गर्ने लामो प्रक्रियाप्रति असन्तुष्टि जनाउने गरेका उनी बताउँछन् । नेपालको राजनीतिक शैलीमा सुधार आउनुपर्ने पनि बताउने गरेका गुरुङले बताए । उनले नेपालको प्राकृतिक वातावरणको भने मुक्तकण्ठले प्रशंसा गर्ने गर्छन् ।
‘बाटो यस्तो अप्ठ्यारो रहेछ । सरकारले बनाइदिन्छ होला नि भन्छन् । तर यहाँको बाटो हिउँदमा मात्र हिँड्न सकिन्छ । बर्खामा आवतजावत नै बन्द हुन्छ । भूकम्पपछि बन्द भएको यो बाटो छ महिनापछि खुलेको पनि सुनाइदिएँ, प्रअ गुरुङले भने, ‘ह्यारीले तपाईँहरू पढेको मान्छेले राम्रो, राम्रो काम गर्नुपर्छ । मैले त पढ्न सकिनँ । लाहुरमा गएँ भन्छन् ।
ह्यारी साँझ बिहान लापुबेसीका सानासाना बालबालिकासँग खेलेर रमाउने गरेका छन् । उनी बालबालिकालाई चकलेट बाँड्ने, ठूलो भएपछि के बन्ने इच्छा छ भनेर सोध्ने, घरबाट विद्यालय आउन कति समय लाग्छ भनेर सोध्ने, बिभिन्न खेल खेलेर रमाउने गरिरहेका प्रअ गुरुङले बताए । ह्यारी सोमबार लापुबेसीबाट विदा हुनसक्ने सम्भावना रहेको पनि प्रअ गुरुङको भनाइ रहेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
-
Don't Forget To Join US Our Community